मिथिलाञ्चलमा दाजुभाइ तथा दिदीबहिनीको प्रेमको प्रतीक रक्षाबंधन एवं भाई टिका पछीको अर्को ठूलो पर्व सामा चकेवा छठ पूजा को दिन देखि नै सुरु भएको छ । वाशिंगटन डिसी अमेरिकामा पनि मिथिलाञ्चलकी दिदीबहिनी हरुले पनि समाचकेवा आफ्नै घरमा बनाएर सामुहिक रुपमा समाचकेवा खेलने तयारी भइरहेको कुरा (ANTA President) एसोसिएशन ऑफ नेपाली तराइन अमेरिका का अध्यक्ष मोहन कुमार यादवले जानकारी गराउनुभएको छ। सामा चकेवा पर्व कार्तिक शुक्ल पञ्चमीदेखि सुरु भई दश दिनसम्म चल्ने छ भने एघाराँैदिन पूर्णिमाका दिनमा राति सामा चकेवाको विसर्जन गरी यो पर्वको समापन हुनेछ ।
संस्था छुट्टाछुट्टै भएपनि हाम्रो धर्म संस्कृति र भाषा संरक्षण को लागि हामीले आफ्ना चाडपर्वहरु रीतिरिवाजहरु सँगै मनाउने कुरा मधेसी एसोसिएशन अमेरिका वाशिंगटन डीसी चैप्टर प्रेसिडेंट मनोरमा शाह एवं एसोसिएशन ऑफ नेपाली ताराई इन अमेरिका वाशिंगटन डीसी चैप्टर प्रेसिडेंट सुनील द्विवेदी ज्यु ले बताउनु भएको छ।
दश दिनसम्म मिथिलाञ्चलकी दिदीबहिनी, छोरीबुहारी तथा महिलाले आ– आफ्ना दाजुभाइको दीर्घायुको कामना गर्दै सामा चकेवा खेल्नेछन् । मिथिलाञ्चलकी दिदीबहिनी हामी अमेरिकामा बजारबाट किनेर ल्याएको माटोको कलात्मक सामा चकेवा बनाएको र रङ्गीचङ्गी बनाएर सामूहिकरुपमा शुक्रबार बेलुका शुक्ल पूर्णिमा (November 19th Friday) को दिन खेलिने कुरा एसोसिएशन ऑफ नेपाली ताराइन अमेरिका का आजीवन सदस्य एवं वाशिंगटन डीसी चैप्टर सदस्य मंजू कुमारी यादव जानकारी गरनुभएको छ।
सामा चकेवा सुकिसकेपछि त्यसमा विभिन्न प्रकारका रङ्ग भरेर सामा चकेवा रङ्गीचङ्गी बनाउने । रङ्गिसकेको सामा चकेवा रातिको बेला रातो रङ्गको बाँसको डालामा राखेर दियोबाली विभिन्न प्रकारका गीत समूहगत रुपमा चेलिबेटी तथा छोरीबुहारीहरुले यसरी गीत गाउने गर्दछन् ।
‘गामके अधिकारी तोहे बरका भैया हो, भैया हातदश पोखरी खुनाइ दिय, चम्पा फूल लगाइ दिय सामचको सामचको ऐहा हो, ऐहा हो, गुँढ खेतमे भसिया हो’ यी लगायतका गीत गाएर सामा चकेवा खेल्ने तथा समूह मै सबैले सबैको दाजुभाइको दीर्घायुको कामना गर्ने गर्दछन् । दश दिनसम्म सामा चकेवा खेलेर दिदीबहिनीले एघारांै दिनमा बिहानै सामा चकेवालाई पुनः रङ्गरोगन गर्ने दिनभरी सुकाएर बेलुका सामा चकेवालाई दही चिउरा खुवाएर सोही सामा चकेवाबाट दाजुभाइको फार भराउने तथा दाजुभाइबाट सामा चकेवा फुटाउन लगाएर सामा चकेवालाई बाजागाजा, गीतनाचका साथ दिदीबहिनीले गाउँको वनमा जोतिएको खेतमा लगेर विसर्जन गर्ने गर्दछन् ।
मिथिलाञ्चलका हरेक दिदीबहिनीले सामा चकेवा पर्वलाई निक्कै मन पराउँछन् भने सामा चकेवा पर्वको बेला सबैले माइतीमा गएर यो पर्व मनाउने इच्छा राख्दछन् । सोही अनुरुप यस पर्वमा टाढा टाढाबाट दिदीबहिनी सामा चकेवा खेल्नका लागि आ–आफ्ना माइतीमा जाने गर्दछन् ।
तराईको सप्तरी सिरहा मोरंग, , धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा लगायत सीमावर्ती भारतीय जिल्लामा यो पर्व लोकप्रिय रहेको छ भने हर्ष उल्लासका साथ यी ठाउँमा यो पर्व मनाउने गर्दछन् । मिथिलाञ्चलमा छठ पर्व खरनाको दिन देखि सामा चकेवा पर्वको आगमन हुन्छ भने छठको तयारीसँगै यस पर्वका लागि पनि दिदीबहिनीले जोरजाम गर्ने गर्दछन् । यसरी सुरु भयो सामा चकेवा पर्व पद्म पुराणमा उल्लेख भए अनुसार श्यामा र बुन्दावनका एक कुमार चारुबक्य मायाको बन्धनमा बाँधिएका हुन्छन्। राज्यका महासामन्त चूडक पनि श्यामालाई प्रेम गर्दछन्। तर श्यामाले अस्वीकार गरिदिँदा चूडकले कृष्णलाई श्यामाको सतित्व सम्बन्धमा झूटा कुराहरु लगाइदिन्छ। त्यसपछि कृष्णले आफ्ना छोरी श्यामाको सतित्वमाथि शंका गरी चरी बन्ने सराप दिन्छन्।
चारुबक्य श्यामाको विरह व्यथाले महादेवको तपस्या गरेर चकेवा बन्न पुग्छ र दुवै प्रेमी चकेवा चकेवीको रूपमा वृन्दावनमा बस्न थाल्दछन्। यस घटनाको समयमा राज्य भ्रमणमा निस्केका कृष्णका छोरा साम्व फर्केर राजधानी आएपछि यी सबै कुरा सुनेर बाबुसँग क्षुब्ध भई बहिनी श्यामा र चारुबक्यलाई पुनः मनुष्य बनाउन वृन्दावन गई तपस्या गर्न थाल्छन्।
श्यामाले चरी बन्ने सराप पाएपछि चूडकको नाम फेरेर चुगला राखिदिनुका साथै सबैले चुगलाको मुख झोस्नेछन् भनि दिएको सरापबाट रिसाएर चूडकले वृन्दावन मै आगो लगाइदिन्छ। आगो लगाएकै बेला वृन्दावनमा भयानक आँधीसँगै पानी पर्न थाल्छ। आँधीका कारण एउटा रूख ढल्दा चूडक किचिएर मर्छ।
यसपछि भगवान् विष्णु साम्वाप्रति खुसी भई श्यामा र चारुबक्यलाई पुनः मनुष्य बनाइदिन्छन्। यसरी सोही दिनदेखि सामा चकेवाको पर्व प्रचलित भएको मान्यता रहिआएको छ। सामा–चकेवा पर्वमा श्यामा र चारुबक्यको चरा रूपमै पूजा गर्ने गरिन्छ। भाइले सामा फुटाल्नुको अर्थ चराको जुनीबाट मुक्ति दिलाउनु हो भनिन्छ। श्यामा र चारुबक्य शब्दको पछि अपभ्रंश भइ सामा र चकेवा नाम प्रचलित हुन गएको हो। यो पर्व रमाइलो गरी मनाइने हुँदा यसलाई सामा खेल पनि भनिन्छ।