Skip to content

प्रेस विज्ञप्ति नेपालमा हालै भएका दुःखद घटनाप्रति हार्दिक श्रद्धाञ्जली तथा शान्ति, न्याय र सामाजिक सद्भावका लागि अपिल

मिति: ३० जुलाई २०२६

स्थान: संयुक्त राज्य अमेरिका

Association of Nepali Teraians in America (ANTA) नेपालका तराई क्षेत्रलगायत विभिन्न स्थानमा हालै भएका दुःखद हिंसात्मक घटनाप्रति गहिरो दुःख र चिन्ता व्यक्त गर्दछ। उक्त घटनाहरूमा ज्यान गुमाउनुभएका जयप्रकाश मेहता, ओमप्रकाश मेहता तथा गणेश यादवप्रति ANTA परिवार भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ। शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दै घटनामा घाइते हुनुभएका सबैको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ।

नेपाल सरकारले घटनाको छानबिनका लागि समिति गठन गरेको तथा सम्माननीय प्रधानमन्त्रीज्यूबाट शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्ने प्रतिबद्धता व्यक्त भएको सन्दर्भमा, ती प्रतिबद्धताहरू निष्पक्ष, पारदर्शी र प्रभावकारी रूपमा कार्यान्वयन हुने हाम्रो अपेक्षा छ। सात समुद्रपार रहे पनि नेपालको शान्ति, स्थिरता, राष्ट्रिय एकता र समृद्धि हाम्रो साझा चाहना हो। यस सन्दर्भमा ANTA नेपाल सरकार, गृह मन्त्रालय, सम्बन्धित सुरक्षा निकाय, राष्ट्रिय मानव अधिकार आयोग, मानव अधिकारसम्बन्धी संस्था, नागरिक समाज तथा सम्पूर्ण सरोकारवाला पक्षसमक्ष निम्न हार्दिक अपिल गर्दछ:

1. घटनाको निष्पक्ष, स्वतन्त्र, पारदर्शी र विश्वसनीय छानबिन गरियोस्। 2. दोषी जोसुकै भए पनि कानुनबमोजिम कडाभन्दा कडा कारबाही गरियोस्। 3. पीडित परिवारलाई न्याय, राहत, क्षतिपूर्ति तथा आवश्यक सहयोग उपलब्ध गराइयोस्। 4. यस्ता घटना भविष्यमा पुनः नदोहोरिन प्रभावकारी शान्ति–सुरक्षा व्यवस्था मिलाइयोस्। 5. सबै धर्म, जाति, भाषा र समुदायबीच आपसी भाइचारा, विश्वास, सहिष्णुता तथा सामाजिक सद्भाव सुदृढ गर्न संवाद र मेलमिलापको पहल गरियोस्। 6. सामाजिक सञ्जालमार्फत फैलिने अपुष्ट सूचना, अफवाह, घृणा र उत्तेजक अभिव्यक्तिलाई नियन्त्रण गर्दै आधिकारिक तथ्य सार्वजनिक गरियोस्।

नेपाल सबै नेपालीहरूको साझा मातृभूमि हो। यसको शान्ति, सामाजिक सद्भाव, मानव अधिकार, धार्मिक सहिष्णुता र कानुनी शासनको संरक्षण गर्नु सरकार मात्र होइन, हामी सबै नेपालीको साझा दायित्व हो। ANTA सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई संयम, धैर्यता, आपसी सम्मान र राष्ट्रिय एकताको भावनासहित शान्ति कायम राख्न हार्दिक आग्रह गर्दछ। भावपूर्ण श्रद्धाञ्जली।

जारीकर्ता:

Association of Nepali Teraians in America (ANTA)

मोहन कुमार यादव President

विजय कुमार चौधरी Chief Advisor

डा. रवीन्द्र मण्डल General Secretary

कञ्चन ठाकुर Spokesperson

डा. राम बाबु यादव Chairman, Board of Trustees

Website: www.anta-terai.org

Email: email@anta-terai.org

Author